एनसेलले यसै वर्षभित्र थ्रिजी सेवा बन्द गर्ने
टेलिकम कम्पनी एनसेलले सन् २०२५ भित्रै थ्रिजी सेवा बन्द गर्ने भएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सो कुरा बताउनु भएको हो ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘टेलिकम उद्योगको पुनःरुत्थान’ विषयक कार्यक्रममा उहाँले सन् २०२५ भित्र थ्रिजी सेवा बन्द गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हो ।
त्यस क्रममा उहाँले सरकारले भिओएलटीई प्रविधि नचल्ने मोबाइल फोनको आयातमा कडाइ गर्न आवश्यक रहेको धारणा राख्नुभयो । साथै, नेपालको टेलिकम व्यापारलाई ‘सब्स्क्रिप्सन मोडल’मा लैजान ढिलो गर्न नहुने बताउनुभयो ।
नेपाल जीएसएमको सूचीमा दुई वर्षअघि ११७औँ स्थानमा रहेको नेपाल हाल ११९ औँ स्थानमा झरेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सहज वातावरण नहुँदा यस क्षेत्रमा विदेशी लगानी आकर्षित हुन नसकेको बताउनुभयो ।
नेपालमा टेलिकम कम्पनीहरुको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि घटिरहेको उल्लेख गर्नुभयो ।
कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरूको सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व सङ्कलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
फोरजी विस्तारमा सेवा प्रदायकहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाइभजीका लागि राज्यले ‘स्पेक्ट्रम’को बोलकबोल अघि बढाए सहभागी हुन तयार रहेको भए पनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता आवश्यक रहेको कायुमोभलेको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्