राजनीति

रवि लामिछानेले सुरु गरे चितवन-२ मा निर्वाचन तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चितवन क्षेत्र नं. २ को उपचुनावमा तयारी सुरु गरेको बताउनुभएको छ ।

सोही क्षेत्रबाट ठूलो मतान्तसहित विजयी हुनुभएका लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उहाँको सांसद पद गुमेको थियो ।

सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको जानकारी दिनुभयो ।

त्यसै गरी लामिछानेले सरकारलाई समर्थन दिए पनि अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताउँदै आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ । अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।”

उहाँले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो । रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो ।

आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.