उम्मेद्वारी खारेजको निर्णय सर्वोच्चले बदर गरिदिएपछि डा.तोसिमाका प्रतिक्रिया
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विजयी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

निर्वाचन प्रचारका क्रममा कार्कीको उम्मेदवारीलाई लिएर परेको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्की सर्वोच्च अदालत जानुभएको थियो । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।
सोही उजुरीका आधारमा उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । सर्वोच्चको फैसलापछि डा. कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको प्रतिक्रिया दिनुभएको छ ।
उक्त मुद्दामा साढे दुई वर्षपछि न्यायधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरिदिएको हो ।
सर्वोच्च अदालतको यस्तो फैसलापछि कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’
उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याद सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर आयोगले निर्णय गरेको बताउँदै कार्कीले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको र न्यायको लागि सर्वोच्च पुगेको बतानुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्