जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-३२ परसवास्थित जगदम्बा इन्ट्रप्राईजेज प्रालिमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा बन्डल प्रेस मेशिन १ थान, स्केप कटर मेशिन १ थान लगायतका विभिन्न सामानहरू जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै झापा, झापा गाउँपालिका-४ बस्ने जवार अन्सारीको भान्सा घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर तथा गोठ जलेर करिब १८ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै रूपन्देही, मायाँदेवी गाउँपालिका-४ झुलनीपुर बजार बस्ने मोहम्मद रमजानको लुम्बिनी कम्प्युटर्स पसलमा बिहीबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यता सिरहा, नगरपालिका-६ बसबिटा चोक बस्ने जिवछ साहको सूर्या जेनरल स्टोरमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा विभिन्न मोटर्स पार्ट लगायतका समानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उता काभ्रे, भुम्लु गाउँपालिका-१० दोलालघाट डेरा गरी बस्ने मकवानपुर घर भएकी ३६ वर्षीया निरमाया तामाङको भान्सा घरमा बिहीबार साँझ आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी रामेछाप, रामेछाप नगरपालिका-९ राताटार स्थित हरदेनी पाखा सामुदायिक वनमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित रहेको १३ वटा घर र १३ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.