समानान्तर गतिविधिको भ्रममा नपर्न एआरएनए प्रवक्ताको अपील
गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रवक्ता डिबी क्षत्रीले संघको समानान्तर गतिविधिको भ्रममा नरहन आग्रह गर्नुभएको छ । उहाँले एक विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो ।
संघका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामाले समान गतिविधि गरेपछि विभाजनको अवस्था आएको भन्दै समाचारहरु बाहिरिएपछि क्षेत्रीले १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको जनाउनुभएको छ ।
संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाडौंमा सकृय रहेको र नयाँ नेतृत्व चयनको लागि निर्वाचनका अधिकांश प्रकृयाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको गर्ने तयारी निर्वाचन समितिले गरेको समेत जनाइएको छ ।
यसै गरी संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन पनि अपिल गरिएको छ ।
प्रवक्ता क्षत्रीले उपाध्यक्ष लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराउँदै संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कारवाहीको प्रकृया समेत अघि बढाइने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि अनुरोध समेत गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्