क्रिकेटखेल

युएईले दियो नेपाललाई तीन सय ११ रनको विशाल लक्ष्य

विश्वकप २०२३ को ग्लोबल छनोटमा सिधै चयन हुने लक्ष्य राखेको नेपालका लागि विश्वकप लिग २ को अन्तिम खेलमा संयुक्त अरव इमिरेट्स (युएई)ले तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रन बनायो ।

युएईका लागि आशिफ खानले एक सय एक रनको सतकीय पारी खेल्नुभयो । उहाँले ४२ बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै वृत्य अरविन्दले ९४ रन बनाउनुभयो । कप्तान मोहम्मद वासमिले ६३ र रोहन मुस्ताफाले २० रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिनुभयो । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

जित बाहेक अर्को विकल्प नरहेकोले नेपाललाई आजको खेलमा साँझसम्म मौसमले समेत साथ दिनुपर्ने आवश्यकता छ । यदि पराजित भएमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने विश्वकप छनोट खेलको क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

विश्वकप लिग २ कै अन्तिम खेल जित्दै अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल यस सिरिजमा क्लीन स्वीप गदै आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने लक्ष्यमा छ ।

तर, काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा युएइले नेपाललाई जितको लागि विशाल लक्ष्य दिएको छ ।

लिगमा ३५ खेल खेलेको नेपाल १८ जित र १५ हारसहित ३८ अंकका साथ तालिकाको चौथो स्थानमा छ। सबै खेल सकेको नामिबिया ३९ अंक सहित तेस्रो स्थानमा छ ।

नेपालले आजको खेल नेपालले जितेका नामिबिया चौथो स्थानमा झर्नेछ भने नेपालले शीर्षतीनमा स्थान बनाउँदै जिम्बावेको यात्रा तय गर्नेछ । युएईसँग बराबरीमा रोकिए पनि नेपाललाई काम छैन ।

३५ खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा छ । युएई सोझै छनोटबाट बाहिरि सकेको छ । यस्तै यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) सबै ३६ खेल सक्खै ११ अंकसहित तालिकाको अन्तिममा छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बावे यात्रा तय गरिसकेका छन् ।

३९ अङ्क जोड्दै ३९ अंक बनाएको नामिबियालाई नेपालको उत्कृष्ट लयले थप झस्काएको छ । नेपालले आज युएईलाई हराएमा ४० अंक बनाउनेछ । यस्तै ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने प्रावधान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.