मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ : उपप्रमुख डङ्गोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
![Sunita dangol](https://www.nepaljapan.com/wp-content/uploads/2022/08/Sunita-dangol.jpg)
संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा शुक्रबार आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गर्नुभयो
राससकर्मी रेग्मीसहित छ जना पुरस्कृत
समाजले राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीसहित छ जनालाई पुरस्कार प्रदान गरेको छ । समाजको छैटौँ वार्षिकोत्सव एवं साधारणसभाका अवसरमा राससकर्मी रेग्मीलाई रु १० हजार नगद राशिसहित ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
यसैगरी ‘संस्कार मानवसेवा सम्मान’ वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेलाई, ‘संस्कार जनसेवा सम्मान’ ग्रिनसिटी अस्पतालकी अर्थ निर्देशक रेणुका गुरुङलाई, ‘संस्कार सामाजिक सेवा सम्मान’ मित्रनगर टोल विकास समाजकी अध्यक्ष गङ्गा पन्तलाई प्रदान गरिएको छ ।
यस्तै ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति सिर्जना पुरस्कार’ वरिष्ठ समालोचक राजकुमार बानियाँ र ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति समाजसेवा पुरस्कार’ वरिष्ठ समाजसेवी मनि लामालाई प्रदान गरिएको संस्थाका सचिव प्रकाश समिरले जानकारी दिनुभयो । बानियाँ र लामालाई पनि जनही रु १० हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्