प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिबारसम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

फाइनल खेलमा पहिले ब्याटिङ गरेको मधेस प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगितामा मधेसले १ लाख रूपैयाँ र लुम्बिनीले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उहाँले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताउनुभयो ।
उहाँले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय हो भन्नुभयो ।
फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्