कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो ।

पहिलो पटक उहाँले ‘कोमल कार्प’ नामक जातको आलुखेती गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग पर्नुभएको छ ।
“आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भन्नुभयो, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” रू पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उहाँले बताउनुभयो ।
पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उहाँले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् ।
यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उहाँले बताउनुभयो । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।
चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गर्नुभएको छ । “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।”
तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आउनुभएको छ । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उहाँले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताउनुभयो ।
अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आउनुभएको छ ।
उहाँले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आउनु भएको छ । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ ।
आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उहाँ बताउनुहुन्छ ।
किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उहाँको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसक्नु भएको छ ।
पूर्वनगर प्रमुख दीलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्