मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिएको राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न उहाँले निर्देशन दिनुभयो ।
यस्तै, राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई सेवा सञ्चालन अनुमतिपत्र नरहेकाले बन्द गर्न निर्देशन दिनुभएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।
सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताल नवीकरण नगरिएकाले दुई महिनाभित्र नवीकरण गराउन भनिएको छ । यसैगरी, २०० शय्याको छिन्नमस्ता अस्पताललाई सरसफाइमा ध्यान दिन र राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालको सेवा गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनुभएको सदस्यसचिव ठाकुरले बताउनुभयो ।
सङ्घ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिँह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृति नगरी केही जनशक्ति अनुपस्थित रहेका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन् । मुख्यमन्त्री सिँहले सो अस्पतालमा देखिएका समस्या समाधानका लागिसङ्घीय स्वास्थ्यमन्त्रीसँग आग्रह गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्