जन सरोकार

पशुपतिनाथको ‘दानपात्र’ चोरी पहिलोपटक हैन

धेरै रकम र बहुमूल्य धातु दानपात्रमा खसेका बेला अपचलन भएको हुनसक्ने छानबिन समितिको शंका

विश्व सम्पदा सूचीमा रहेको विश्वभरका हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरको ढोकैमा राखिएका दानपात्रमध्ये एउटा दानपात्र हरायो ।

कडा सुरक्षा प्रबन्ध रहेको र सिसीटिभी समेत जडान भएको स्थानबाट दानपात्र हराएको हल्लाखल्ला भएपछि पुनः यथास्थानमा फर्काइयो । यो घटनापछि छानबिन गर्न समिति गठन भएर प्रतिवेदन समेत बुझाइसकिए पनि ठूलै शंकाको घेरामा राखेको छ ।

पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको दानपात्र गत माघ १४ गते हराएको र केही घण्टापछि पुनः यथास्थानमै फेला परेको थियो । उक्त घटनाको छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा कोषले एउटा सात सदस्यीय समिति बनाएको थियो ।

उक्त समितिले छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको भए पनि त्यसको कार्यान्वयन कहिले हुन्छ वा दोषी रहेको शङ्का गरिएकामाथि थप छानबिन हुन्छ कि हुँदैन भन्नेबारे कोषले केही बताएको छैन ।

पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूका अनुसार मन्दिरका चारवटै ढोका अगाडि तामाका घ्याम्पालाई दानपात्रका रूपमा राखिएका छन् । ती घ्याम्पाहरूमा माथि बिर्को लगाइएको छ र ती बिर्काहरूमा चाबी लगाउने गरिन्छ।

घ्याम्पाको सबैभन्दा माथिको भागमा खुत्रुकेमा पैसा खसाउने जस्तै प्वाल बनाइएका छन् र दैनिक भक्तजनहरूले ती प्वालबाट नेपाली र विदेशी मुद्रा, गरगहना तथा सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत दानपात्रमा खसाउने गर्छन्।

त्यसरी जम्मा भएका नगद तथा बहुमूल्य धातु रहेका चारवटै घ्याम्पालाई हरेक दिन दिउसो मध्याह्नतिर जिम्मेवार कर्मचारीको रोहबरमा खोलेर त्यसलाई कोषमा दाखिला गर्ने चलन रहेको छ।

तर गत माघ १४ गते पश्चिमतर्फको ढोकानेर रहेको त्यस्तो एउटा घ्याम्पो हराएको विवरण कर्मचारीहरूले कोषका सदस्यसचिव मिलन थापालाई दिएपछि ठूलै खैलाबैला मच्चिएको थियो ।

त्यसपछि पशुपति क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरूले घ्याम्पो चोरी भएको मुचुल्का समेत उठाएका थिए। तर त्यसको केही घण्टापछि यथास्थानमै घ्याम्पो फेला परेको थियो।

उक्त घटनापछि कोषले त्यसको भोलिपल्ट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत सदस्य रहेको एउटा छानबिन समिति बनायो। उक्त समितिले विभिन्न तथ्यहरू भेला पारी तयार पारेको प्रतिवेदन बुझाइसकेको छ ।

छानबिनका क्रममा समितिले उक्त घटना हुनुअघि त्यस क्षेत्रमा जोडिएको सीसीटीभी प्रणालीलाई काम नगर्ने बनाइएको पाएको थियो । तर त्यो कहिले र कसले काटेको थियो भन्ने कसैले पनि जबाफ दिन सकेनन् ।

छानबिन समितिका संयोजक देवीप्रसाद बरालले छानबिनका क्रममा सम्बन्धित व्यक्ति र कर्मचारीलाई लिखित रूपमै प्रश्नहरू सोधेको बताउँदै त्यस क्रममा पशुपतिनाथ मन्दिरमा पहिले यस्तै खाले घटना भएको थियो कि थिएन भन्ने प्रश्न पनि उठेको थियो ।

त्यस्तै विशेष गरी दानपात्रको रेखदेखको जिम्मेवारीसमेत पाएको कोषको संस्कृति संरक्षण महाशाखा र कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको छानबिन समितिले पाएको बरालको भनाइ छ।

छानबिनका क्रममा कर्मचारीले दिएको जानकारी अनुसार दानपात्रमा हरेक दिन नगद मात्र पनि दुई लाख रुपैयाँभन्दा बढी जम्मा हुने गरेको बरालले बताउनुभयो ।

उहाँले बहुमूल्य वस्तु खसालेका बेलामा दानदातव्यको अपचलन भएको हुनसक्ने औल्याएको बताउँदै प्रतिवेदनमा सुरक्षालाई थप सुदृढ पार्न र दानपेटीकाको रकम तथा बहुमूल्य वस्तुको सुरक्षा तथा व्यवस्थापनका लागि कार्यविधि बनाएर निश्चित व्यक्तिलाई निश्चित कामको जिम्मेवारी तोक्न पनि सुझाव दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.