राजनीति

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकाहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरुले सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताउनुभयो । उहाँले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गर्नुभयो ।

सांसद दीपकबहादुर सिंहले युवाहरु विदेश पलायन बढ्दा मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको बताउनुभयो । देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउनका लागि यौन व्यवसाय खुला गरिनुपर्छ भनेर संसद्मा बोलिनु आपत्तिजनक रहेको उहाँको भनाइ थियो । राप्रपा सांसद ज्ञानबहादुर शाहीमाथि आइतबारको संसद् बैठकमा अपमान भएको पनि उहाँको भनाइ छ ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराका व्यवसायीहरुले जिल्ला प्रशासनबाट अनावश्यक दुःख भोग्नु परेको बताउनुभयो । बारा जिल्लाको विकास निर्माणका लागि आफूले संसद्मा पटकपटक कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । अमलेखगञ्जका नागरिकका लागि खानेपानीको व्यवस्था गर्न उहाँले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जङ्गली जनावर र मुख्यगरी हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको र जङ्गली जनावरको त्रास बढिरहेको विषय संसद्मा राख्नुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, जङ्गली जनावरको आक्रमणबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ । सांसद डा अमरेशकुमार सिंहले दलितमाथि हुने विभेद अझै कायम रहेको बताउनुभयो । सर्लाहीमा अवैध ढुङ्गा बालुवा खानी नजिक आपराधिक घटना बढिरहेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।

सांसद सीताकुमारी रानाले बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीयले राष्ट्रिय जनावर गाईलाई खोलामा बगाएर मारेको विषयमा संसद्मार्फत ध्यानाकर्षण गराउनुभयो । गाई चोरी-पैठारी भइरहेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.