राजनीति

सांसदले यौनलाई व्यावसायिकरण गर्न माग गरेपछि (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीकी सांसद दुर्गा राईले पर्यटनबाट धेरै आर्थिक लाभ लिन यौन व्यवसाय संचालन गर्नुपर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको भनाइ रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद घिमिरेले प्रतिपक्षी दलले विधेयकको एकोहोरो बिरोध गरी आवश्यक सुझाव नदिएको भन्दै आर्थिक लाभका लागि यौन व्यवसायलाई मान्यता दिनुपर्ने बताउनुभएको थियो ।

झण्डै १३ मिनेट समय लिएर बोल्नुभएका घिमिरेले नेपालमा औद्योगिक विकास गर्ने कुरा असम्भव रहेकाले पर्यटन र पर्यटनमा पनि मनोरञ्जन पर्यटनलाई अघि सार्नुपर्ने भन्दै यौन व्यवसाय संचालनको सुझाव प्रतिपक्षी दलहरुले दिएको भए कति राम्रो हुन्थ्यो भन्नुभएको थियो ।

उहाँले धार्मिक पर्यटकले कम खर्च गर्ने र मनोरञ्जन पर्यटकले बढी खर्च गर्ने हुँदा यौन व्यवसायलाई पर्यटक आकर्षणको विषय बनाउनुपर्ने बताउनुभएको थियो ।

सांसद घिमिरेको सोही भनाइप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले यौन व्यवसायको माग गर्ने सांसदले आफ्नै परिवारबाट सो काम गर्न सक्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आर्थिक लाभका नाममा समाज भाँडिने कुरा सत्तापक्षकै सांसदबाट आएकाले त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग पनि गर्नुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुुर सिंहले सीता, भृकुटीको देशमा महिलालाई पूज्य मानिए पनि सत्तापक्षका सांसदले यौन व्यवसाय खुला गर्न माग गर्नु घोर आपत्तिजनक रहेको भन्दै देशको अर्थतन्त्र उकास्न अरु धेरै क्षेत्र रहेको बताउनुभयो ।

उहाँले धार्मिक, सांस्कृतिक रुपमा सम्पन्न देशमा पर्यटक आकर्षित गर्न वेश्यालय खोल्नुपर्ने अवस्था आउनु गणतन्त्रको सफलता हो ? यसैका लागि राजतन्त्र हटाएको हो भन्दै प्रश्न पनि गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.