विविध घोषणासहित दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिवसीय दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन विविध घोषणासहित सम्पन्न भएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर नाराका साथ शनिबारबाट सुरु भएको सम्मेलन मार्च १६ आइतबार सम्पन्न भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्नुभएको थियो ।
त्यसै गरी पूर्व मन्त्री तथा सांसद पदम गिरी, थाइल्याण्डका लागि नेपालका राजदुत धनबहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने पीएनओ तथा युवाहरु विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यसै गरी सम्मेलनमा निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार, सञ्चारकर्मीहरू तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो।
सम्मेलनका विभिन्न सत्रमा छलफल पश्चात विविध निर्णय गरिएको छ । जसअनुसार पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गर्न सरकारलाई आव्हान गरिएको छ ।
त्यस्तै गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको अनुरोध गरिएको छ ।
सम्मेलनले विदेशमा रहेको युवा तथा दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्न विभिन्न योजना बनाई विदेशमा रहेका नेपालीका सन्तानलाई नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने कार्यक्रमहरू अघि बढाइने निष्कर्ष निकालेको छ ।
त्यस्तै बौद्धिक सम्पत्तिलाई प्रबर्धन गर्दै नेपाली युवालाई नेपालमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न पहल गरी विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन सरकारसँग अनुरोध गरिएको छ ।
यसै गरी गैरआवासीय नेपाली नागरिकता जारी भैसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरह नै प्रयोग गर्न दिने क्रममा अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साविक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न पनि माग गरिएको छ ।
सम्मलनका क्रममा एनआरएनएको प्रस्तावमा प्रत्येक वर्ष दुईजना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रतिक्रिया राख्नुहोस्