क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा कायमै, एपिएफ तीन विकेटले पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । योसँगै प्रतियोगितामा अविजित रहदै आर्मीले पाँच वटै खेल जितेको हो ।

सशस्त्र प्रहरी क्लब (एफिएफ)ले दिएको १४२ रन पछ्याएको आर्मीले ४२ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि कुशल मल्ल र सोमपाल कामी क्रिजमा टिकेर खेलेपछि उसको जीत सुनिश्चित भएको हो । आक्रमक मानिने कुशलले सोमबार निकै सम्हालिएर खेलेका थिए ।

उनले ५९ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाए । सोमपालले पनि ५१ बलको सामना गर्दै १ चौकाको सहयोगमा अविजित २२ रन बनाए । यसअघि ब्याटिङ्ग गर्दै विवेक यादवले २६, वसिर अहमदले १३ र ईमरान शेषले ११ रन बनाए ।

बलिङ्गमा सशस्त्र प्रहरीका कमल ऐरी, अमर रौटेला र रोहित पौडेलले समान दुई÷दुई विकेट लिए । यसअघि रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको शसस्त्रले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १४१ रन बनाएको थियो ।

सशस्त्रका लागि सन्दिप जोराले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दिपले ९१ बलमा नौ चौका प्रहार गर्दै ६५ रन बनाए । यस्तै, अमर रौटेला, भुवन कार्की र किशोर महतोले समान ११÷११ रन बनाउँदा अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कसमेत जोड्न सकेनन् ।

बलिङमा त्रिभुवन आर्मी क्लबका आकाश चन्दले १० ओभरमा ३५ रन मात्र खर्च गरी चार विकेट र सोमपालले १० ओभरमा ३४ रन दिँदै तीन विकेट लिए । यसैगरी साहब आलमले दुई विकेट र बसीर अहमदले एक विकेट लिए ।

प्रतियोगितामा पाँच खेल खेलेको सशस्त्रले तीन जित र दुई हार बेहोरेको छ भने पाँच खेल खेलेको आर्मी पाँच वटै खेलमा जितका साथ १० अङ्कसहित अङ्क तालिकामा दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.