समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा भएका दुर्घटना लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद रघुजी पन्तले नेपाली साहित्यलाई आधुनिक स्वरुप दिने प्रख्यात कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै साहित्यकार र साहित्यिक संस्थाको हित गर्न सरकारको ध्यान आकृष्ट गर्नुभयो ।
मुलुकलाई चिनाउन लेखक, कलाकार, संगीतकर्मीको भूमिका रहने भएकाले राज्यले उनीहरुलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अहिले साझा प्रकाशन रुग्ण अवस्थामा पुगेको प्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।
बैठकमा सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने बताउनुभयो ।
त्यसै गरी, सोहि नगरपालिकाको वडा नम्बर १ र २ मा पनि अहिले आगलागी भइरहेकाले त्यसको नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । जिल्लाका अरु स्थानमा पनि आगलागी भइरहेको उहाँको भनाइ छ ।
अहिलेसम्म खोटाङमा विभिन्न ३० स्थानमा आगलागी भइरहेको र ११ घर पूर्णरुपमा नष्ट भएको, ६७ वटा पशु चौपाया र १५ वटा कुखुरा मरेको उहाँले संसदमा बताउनुभयो ।
आगलागीबाट हालसम्म जिल्लामा करिब रु एक करोड २० लाख ९० हजार बराबरको क्षति अनुमान गरिएको उहाँले बताउनुभयो ।
सांसद देवेन्द्र पौडेलले पछिल्लो समय सवारी दुर्घटना बढिरहेको र यसबाट वर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । पछिल्लो पाँच वर्षमा मात्र १४ हजारभन्दा बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको बताउनुभयो ।
सोमबार बागलुङको निसीखोलमा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु र २५ जनाभन्दा बढी घाइते भएको र घाइतेको उद्दार तथा तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । दुर्घटना न्यूनीकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद जनार्दन शर्माले पनि सोमबार बागलुङमा भएको बस दुर्घटनाका घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न र मृतकलाई हालसम्म परिवारको जिम्मा लगाउन नसकिएकोमा त्यसको व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सवारी दुर्घटनाका कारण ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसद चन्द्रबहादुर विश्वकर्माले दुर्घटना न्यूनीकरणका लागि पहल थाल्न आग्रह गर्नुभयो ।
सोमबार भएको बस दुर्घटनाका घाइतेलाई निःशूल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको माग पनि उहाँले गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्