विद्युत प्राधिकरण दुई खर्ब घाटामा छ, घिसिङ उज्यालो नेपालका नायक होइनन् : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण नाफामा रहेको हल्ला चलेको भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताउनुभएको छ ।

बुधबार राष्ट्रियसभामा बोल्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर प्राधिकरणलाई नाफामा लगेको हल्ला फैलाएर नायक हुन खोजेको भन्दै अहिले पनि साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताउनुभएको छ ।
मन्त्री खड्काले अहिले पनि ८ सय २५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताउँदै भारतबाट आयातित विद्युत्का कारण लोडसेडिङ हटेजस्तो भएको दावी गर्दै यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।’
मन्त्री खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गर्नुभयो । मन्त्री खड्काले यस्तै अभिव्यक्ति प्रतिनिधिसभामा पनि दिनुभएको थियो ।
राष्ट्रिय सभाका सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री खड्काले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’
प्रतिक्रिया राख्नुहोस्