हाँडीगाउँमा गहना खोज्न बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा
हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ ।
काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन । हाँडीगाउँमा भने लुकुमाद्य: का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले राससलाई जानकारी दिनुभयो ।
आजको एक हप्तामा हाँडीगाउँमा लिङ्गो उठाइन्छ । लिङ्गो उठाएको एक हप्तापछि गहनापोखरीमा गहना खोज्ने जात्रा गर्ने गरी सबै तयारी गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
जात्राका लागि पुजारी समूह, बाजा बजाउने समूहलगायतले भूमिका निर्वाह गर्नेछन् । डङ्गोल, प्रजापतिलगायत जातिको पनि जात्रामा फरक–फरक भूमिका हुने गरेको छ । जात्राका लागि बाजा, बत्तीलगायत व्यवस्थित गरिने वडा सदस्य विजयप्रकाश कर्माचार्यले जानकारी दिनुभयो ।
जात्राका नाममा रहेको गुठी जग्गा बेचिएपछि जात्राका लागि महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ । गुठी संस्थानबाट पूजा सामग्री र बलि सामग्रीको व्यवस्था हुने गरेको वडा कार्यालयले जनाएको छ । हाँडीगाउँ काठमाडौँ उपत्यकाकै पुरानो सहर भएकाले पर्यटकीय रुपमा यसको विकास गरिने भएको छ ।
महानगरपालिकाको ११औँ नगर परिषद् बैठकले हाँडीगाउँलाई पूर्वलिच्छविकालीन सहरकै स्वरुपमा विकास गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको पनि वडाध्यक्ष प्रजापतीले बताउनुभयो । महानगरपालिकाले हाँडीगाउँका विषयमा छट्टै कार्यविधि बनाउन लागेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्