जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दी, सप्तरी र पर्सामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । म्याग्दी, धौलागिरी गाउँपालिका-२ पाखापानीस्थित सडकमा गुर्जादेखि लुलाङतर्फ आउँदै गरेको ग.१ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र गम्भीर घाइते भएका १८ वर्षीय डोबिन विकको लुलाङस्थित स्वाथ्य चौकीको उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य चार जना मध्ये तीन जनालाई थप उपचारको लागि वेनी अस्पताल म्याग्दी पठाइएको छ भने एक जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरी, कंचनरूप नगरपालिका-१० बदगामास्थित सडकमा प्रदेश.१-०२-००३ ह ८६९२ नम्बरको सिटी सफारी र प्र.३-०१-००२ प ८२८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका पूरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारी चालक समेत चार जना र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३००९ प १६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका- ६ चैनपुर बस्ने ६० वर्षीया विराजी देवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.