सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने
कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ ।
सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ ।
त्यसका लागि सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुङ्गेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका तर्फबाट प्रथम उपाध्यक्ष दिवस पोखेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो ।
सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोही र आश्रित परिवारलाई एयरलाइन्स र अस्पतालको सेवामा सहुलियतका लागि दुई संस्थाबीच सहकार्य गरिएको बताउनुभयो । उहाँले पर्यटन उद्योगमा महत्त्वपूर्ण योगदान गर्ने पर्वतारोहीले विदेशी मुद्रा भित्र्याउन र साहसिक पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको कदरस्वरुप दुई संस्थाको सेवामा विशेष छुटका लागि सम्झौता भएको जानकारी दिनुभयो । यसले कीर्तिमानी आरोहीहरूको पहिचानलाई अझ जीवन्त र परीणाममुखी बनाउन मद्दत पुग्ने सङ्घको विश्वास छ ।
सङ्घले हिमाली क्षेत्रको सरसफाइ, सगरमाथा रक्षा अभियान चलाउँदै फोहर व्यवस्थापन, सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक, कोप-१५ मा जलवायु परिवर्तनले पारेको असरप्रति ध्यानाकर्षण गर्दै कोपनहेगन, डेनमार्कमा आरोहीहरूको मार्चपासलगायत कार्यहरू गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्