अमेरिकी धम्की अर्थहीन : खामेनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताउनुभएको छ ।

अयातोल्लाह अली खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भन्नुभयो, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले ‘उनीहरूलाई कहीँ पनि पु¥याउँदैन’ ।”
उहाँले भन्नुभयो, “ यदि उनीहरूले इरानविरूद्ध केही गरे भने उनीहरूलाई कडा झापड लाग्नेछ भनी अमेरिकी र उसका अन्य सहयोगीले कुरा बुझ्नुपर्छ ।” गत मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेको र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।
बिहीवार विदेशमन्त्री अब्बास अराघचीले उक्त पत्र ‘खतराको विषय’ भएको तर यसले अवसर प्रदान गर्ने पनि बताउनुभएको थियो । अराघचीले तेहरानले आफ्नो प्रतिक्रियाबारे विचार गरिरहेको र आगामी दिनमा सार्वजनिक गरिने बताउनुभयो ।
बुधबार अमेरिकी समाचार वेबसाइट एक्जिओसले एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै ट्रम्पको पत्रले ‘नयाँ आणविक सम्झौतामा पुग्नका लागि दुई महिनाको समयसीमा’ तोकेको जनाएको छ । यसले दुई महिनाको अवधिको सुरु वा अन्त्य मिति निर्दिष्ट गरेको छैन।
खामेनीले यसअघि पनि ट्रम्पले वार्ताका लागि गरेको प्रस्तावलाई अस्वीकार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकालाई वार्त ागर्न इच्छुक र इरानलाई संलग्न हुन अनिच्छुक भनेर चित्रित गरेर विश्वव्यापी जनमतलाई धोका दिन खोजेको आरोप लगाउनुभएको थियो ।
जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले तेहरानविरुद्ध ‘अधिकतम दबाब’ दिने आफ्नो नीतिलाई पुनः स्थापित गर्नुभएको छ । आफ्नो पहिलो कार्यकालमा उहाँले सन् २०१८ मा इरान र विश्व शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता गर्नुभएको थियो भने तेहरानमाथि पुनः व्यापक आर्थिक प्रतिबन्ध लगाउनुभएको थियो ।
इरानले सुरुमा ट्रम्पको बहिर्गमनपछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो तर पछि सम्झौताको हस्ताक्षरकर्ता बाहिरिएको अवस्थामा आफुमात्र यसको कार्यान्वयन गनए बाध्य नहुने भन्दै क्रमिक रूपमा सम्झौताबाट फिर्ता भएको थियो र युरेनियम संवद्र्धनको स्तर ६० प्रतिशतसम्म बढाएको थियो ।
वर्तमान स्तर सम्झौता अन्तर्गत निर्धारित ३.६७ प्रतिशत सीमा भन्दा धेरै बढी छ र आणविक हतियार निर्माणका लागि आवश्यक सामग्रीको लागि ९० प्रतिशत आवश्यकताको नजिक छ ।
आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयास अहिलेसम्म असफल भएको छ । तेहरानले ट्रम्पलाई विरोधाभासी दृष्टिकोणको आरोप लगाउँदै आएको छ र दबाबमा वाशिङटनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको छ।
“इरानले दबाब, धम्की र बढ्दो प्रतिबन्धको सामना गर्दा निश्चित रूपमा प्रत्यक्ष वार्ता गर्ने छैन,” अराघचीले बिहीबार भन्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्