‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा शुक्रबार आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।”
नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
“हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उहाँले भन्नुभयो ।
राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्