गणतन्त्रको विकल्प छैन भन्दै भाषण गर्नुपर्ने दिन किन आयो
फागुन ७ गतेको पूर्व राजाको सन्देश, २५ गतेको विशाल र्यालीसहितको स्वागतपछि सरकारमा रहेकाह, गणतन्त्र पक्षधर रहेका भनिएका सबै नेताहरु गणतन्त्रको विकल्प छैन भन्दै भाषण गर्न व्यस्त छन् ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभामा पनि यही कुरा उठाइन्छ । पूर्व राजालाई बोल्न रोक्नुपर्नेदेखि थुन्नुपर्नेसम्मका कुराहरु बाहिर आइरहँदा यति ठूलो उपलब्धिका संवाहककहरु किन तर्सेका होलान् भन्ने प्रश्न उठेको छ ।
अहिले राजतन्त्र र गणतन्त्रको बहस चाहिनेभन्दा बढी भैरहेको छ । देशको समुन्नतिममा खर्चनुपर्ने प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका समय राजतन्त्र पुनःस्थापना हुन सक्दैन भन्दै भाषण गर्नमै व्यतित भैरहेको छ । यसो किन ?
हरेक दिन कुनै न कुनै समारोहमा सरकारका मन्त्री, सत्तारुढ दलका नेता तथा विपक्षी दलका नेताहरु यही विषयमा चर्का भाषण गरेर पूर्व राजाले संविधान मिचेको भन्दै आफूहरुलाई सफल सावित गर्न खोजिरहेका छन् ।
यसै क्रममा गृहमन्त्री रमेश लेखकले शनिबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताउँदै गणतन्त्रमा केही पनि भएन भनेर गर्न खोजिएको प्रचार गलत भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन् । बेराजगारी, आर्थिक शिक्षा, विकास पूर्वाधारमा समस्या छन् । सोचेअनुसार आर्थिक वृद्धि गर्न सकिएको छैन, तर, नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइन । विभिन्न चुनौती र समस्याका बाबजुत धेरै काम भएका छन् । धेरै काम गर्ने प्रयत्न भइरहेको छ ।”
उहाँले नेपालमा रहेका अपार सम्भावनाहरूलाई पहिचान गरी तिनको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउँदै गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भनेर निरङ्कुशताको कुरा गर्नु गलत भएको भन्दै यस्ता गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री लेखकको भनाइ थियो, “लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था र गणतन्त्रको विकल्प राजतन्त्र वा अरु केही हुनसक्दैन । गणतन्त्रको स्थापनापछि धेरै उपलब्धि भएका छन्, यसको गति बढाउन सबैबाट इमान्दार प्रयत्न आवश्यक छ । यसमा नागरिक, दल र सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन ।”
शनिबार नै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै सम्पन्न स्ववियू निर्वाचनले राजतन्त्रको पक्षमा जनमत नरहेको पुष्टिभएको भन्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभयो ।
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गर्दै उहाँले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नहुने बताउनुभयो ।
उहाँले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताबीच एकता अपरिहार्य छ भन्नुभयो । एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्