देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनको शनिबार गोरखामा उद्घाटन गर्दै उहाँले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताउनुभयो ।
“प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन”, महासचिव गुरुङले भन्नुभयो, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’’
उहाँले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राख्नुभयो । मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताउनुभयो ।
“सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दैछ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्