राजनीति

दलितको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष पक्राउ

सिरहाको औरही गाउँपालिका—५ मा एक दलित परिवारको घर भत्काएको विषयमा प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई नै प्रहरीले पक्राउ गरिसकेको छ भने उनीहरुबिरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।”

दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ ।

औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिनुभयो । यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो ।

गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातिय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ । त्यसैगरी राष्ट्रय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.