छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सुनसरी, काठमाडौं, धनषा, सुनसरी र कञ्चनपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीस्थित सडकमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को.३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा बा.५ ख ३७०२ नम्बरको बसले किचेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ ।
बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै धनुषा, लक्ष्मीनिया गाउँपालिका-७ स्थित सडकमा जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ख ३४४१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ सिनुरजोडा बस्ने ७० वर्षीय रबिन्द्र मण्डलको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सुनसरी, इटहरी उपमहानगरपालिका-५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । यता कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बरेली टोलस्थित सडकमा म.१ त १०२० नम्बरको ट्याक्टरमा सु.प.प्र. ०२-००३ प ६७३२ नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-११ भुजेला बस्ने ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्