मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि सहमति भएको छ ।

यसलाई अन्तिम रूप दिई कार्य प्रारम्भ गर्न आइतबार फुजिनोमियाका नगरप्रमुख हितोतादा सुदोसहितको टोलीले मण्डनदेउपुर नगरको औपचारिक भ्रमणपश्चात् भगिनी सम्बन्धको औपचारिक घोषणा गरिएको छ ।
नगरसभाको दोस्रो विशेष अधिवेशन–२०८१ आयोजना गरी मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइवा र सुदोले सम्बन्धमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो । गभिनी सम्बन्धका लागि जापानका लागि नेपालका राजदूत डा दुर्गा सुवेदीले विशेष समन्वय गरेको नगरप्रमुख वाइबाले जानकारी दिनुभयो ।
उहाँले विकसित देश जापानको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु गौरवको विषय भएको र यसले यहाँको कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधि आदानप्रदानका साथै यी क्षेत्रको विकासमा थप प्रगति हुने अपेक्षा रहेको बताउनुभयो । नगरप्रमुख वाइबाले जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेकाले यो सम्बन्ध मण्डनदेउपुरको विकासमा समेत कोसेढुङ्गा सावित हुने विचार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सुदोले दुई नगरबीचको सम्बन्धको सुरुआतको क्षण ऐतिहासिक भएको चर्चा गर्दै यसले आगामी दिनमा दुई नगरको विविध आयामलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अब हामी दुई नगरको सम्बन्ध प्रगाढ हुँदै जानेछ”, उहाँले भन्नुभयो ।
गत माघ दोस्रो साता मण्डनदेउपुरका जनप्रतिनिधिको टोलीले जापान भ्रमणका क्रममा फुजिनोमिया नगरसँग भएको भगिनीसम्बन्धको सम्झौतालाई आज औपचारिकता दिइएको हो ।
प्रतिक्रिया राख्नुहोस्