राष्ट्रियसभामा विभिन्न विधेयक पेस
राष्ट्रियसभामा विभिन्न विधेयक पेस गरिएका छन् । सभाको आइतबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ पेस गरिएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले मुलुकको आर्थिक सुधारका लागि आर्थिक अनुशासन कायम गरिने बताउनुभयो । उहाँले सीमित स्रोतसाधनका कारण मानवीय र भौतिक विकासका लागि विनियोजन हुने बजेटको उचित र अधिकतम् परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बजेट खर्च नहुने रकम मुलुकको सञ्चिति कोषमा जम्मा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले यसमा अन्यथा सोच्न नहुने बताउनुभयो ।
राष्ट्रियसभाको अर्काे बैठक यही चैत १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्