जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

बाँके, चितवन, रुपन्देही, बारा र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी चोकस्थित सडकमा बेतहनी बजारबाट बाबागाउँतर्फ जाँदै गरेको भे.१ ख १४०७ नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने हरिद्वार गोडियाको छोराहरू ९ वर्षीय विशाल गोडिया र ७ वर्षीय शिव गोडीयाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवन, राप्ती नगरपालिका-१२ कपता भञ्ज्याङस्थित सडकमा लोथर खोलाबाट बोक्राङतर्फ जाँदै गरेको ग.१ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-१२ बोक्राङ बस्ने ३९ वर्षीय रबिन प्रजाको आइतबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै रूपन्देही, ओमसतिया गाउँपालिका-४ मटेरियास्थित सडकमा लुम्बिनी प्रदेश ०१-००१ ह ०५५० नम्बरको इरिक्साबाट खसेर ईरिक्सामा सवार सोही ठाउँ बस्ने करण थारूको छोरा ३ वर्षीय सिद्धार्थ थारूको आइतबार दिउँसो मृत्यु भएको छ । इरिक्साबाट खसेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार इरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता बारा, आदर्शकोतवाल गाउँपालिका-५ टेढाकट्टीस्थित सडकमा गौरबाट कोतवालीतर्फ आउँदै गरेको ग.६ प ८९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने ६५ वर्षीया संजोतिया देवीको मृत्यु भएको छ । आइतबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

यता कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१-००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.