विश्व समाचार

क्यान्सरको खुलासा पश्चात् वेल्सका राजकुमारीलाई अपार साथ

वेल्सकी राजकुमारी केटलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित हुनुभएको बताइएको छ ।

आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताउनुभएको थियो ।

बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताउनुभएको थियो ।

“राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ”, केन्सिङ्टन दरबारका प्रवक्ताले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरहनुभएका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन् ।

केट वा अरु कसैले पनि उहाँलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गर्नुभएको छैन । राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन् ।

अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उहाँ अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए ।

यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो ।

द सन र टिएमजेडले गत हप्ता केट र विलियम उहाँहरूको घर नजिकै किनमेल गरिरहेको भिडियो प्रकाशन गरे पनि नकारात्मक कभरेजलाई हटाउन सकेन ।

“राजकुमारी केटले भिडियोमार्फत जानकारी गराउनुअघि उहाँको स्वास्थ्य अवस्था र ठेगानाबारे अनुमान र दबाब मैले अहिलेसम्म देखेको सबैभन्दा खराब थियो”, केट र प्रिन्स अफ वेल्सका पूर्व आधिकारिक प्रवक्ता प्याडी हार्भरसनले भन्नुभयो ।

यद्यपि जस्तोसुकै अनुमान गरिए पनि केटले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिनुहुनेछ भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.