छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
अछाम, दाङ, कपिलवस्तु, मकवानपुर, महोत्तरी र इलाममा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । अछाम, मेल्लेख गाउँपालिका-७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरका चालक मेल्लेख गाउँपालिका-१ ऋषिदह बस्ने २१ वर्षीय जनक धामी समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ । त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-९ दुवीचौरस्थित सडकमा बुकाली डाडाबाट मुकुन्द डाँडातर्फ जाँदै गरेको रा.८ प ३९५३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका-६ बनकसियास्थित सडकमा बैदौलीबाट कुश्मातर्फ जाँदै गरेको इलेक्ट्रोनिक स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राजु थारूको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता मकवानपुर, बकैया गाउँपालिका-४ गोठखोलास्थित सडकमा प्रदेश ३-०१-०२४ च १७९६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने निजल बानियाको छोरा ११ वर्षीय निशान बानियाको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता महोत्तरी, बर्दिबास नगरपालिका-८ निमचोकमा बर्दिवासबाट हात्तिलेटतर्फ जाँदै गरेको बा.७८ प ५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बर्दिबास नगरपालिका-२ लच्का बस्ने ३५ वर्षीय पूर्ण बहादुर मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । त्यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ ग्वारखोलास्थित सडकमा रा.१ त १५५९ नम्बरको ट्याक्टरको ठक्करबाट बाँके नेपालगंज उपमहानगरपालिका-६ बस्ने अबदुल जबरारको छोरी ३ वर्षीया सुबिना बानुको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी इलाम, सूर्योदय नगरपालिका-१२ मलिमस्थित सडकमा मे.१ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा आटोमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीया मन कुमारी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्