क्रिकेटखेल

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशद्वारा मधेस प्रदेश सुपर ओभरमा पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा गण्डकी प्रदेशले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ। गण्डकीले जिते पनि नौ खेलमा ४ अङ्क मात्र बटुल्दै बाहिरिएको छ ।

प्रधानमन्त्री कप

जारी प्रतियोगितामा सोमबार पहिलो सुपर ओभर खेलाइएको हो । मधेस प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीेले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दिप अर्याल रन आउट भए । तर त्यस अघि नै एम्पायर सञ्जय गुरुङ्गले बललाई वाईड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुङ्गिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो । २३ रनको लक्ष्य मधेसले भेट्टाउन सकेन । उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो । यस अघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदिप अर्यालले ३४/३४ रन र सुभास भण्डारीले १३ रन बनाए ।

बलिङमा मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १-१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशङ्कर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका लागि रोहन बिकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए । हरिशंकर साह र रुपेश सिंहले समान ५१-५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए ।

बलिङमा गण्डकी प्रदेशका बिपिन खत्री र कमल परियारले समान २-२ विकेट लिँदा अमित गुरुङ र सन्दिप पराजुलीले १-१ विकेट लिए । प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.