कुलमानलाई हटाएर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर सरकार उल्टो बाटो हिंडेको टिप्पणी गर्नुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । त्यसपछि सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै महामन्त्री थापाले यस्तो टिप्पणी गर्नुभएको हो।
त्यस्तै उहाँले सरकार आफैंले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको आरोप लगाउनुभएको छ । ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?, ’‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ’ महामन्त्री थापाले भन्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्