व्यवस्था सफल बनाउन विगतलाई गाली गरेर मात्र हुँदैन
नेपालबिरुद्ध भारतीयहरुको निकृष्ट टिप्पणी, सत्ता राजनीति बेखबर, पूर्व राजाबिरुद्ध बोल्नु नै गणतन्त्रको रक्षा ?
गत फागुुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा दशौं हजारले विमानस्थलदेखि निर्मल निवाससम्म र्याली गरेर स्वागत गरेपछि यो विषयले नेपालको सत्ता राजनीति त चर्किएकै छ, छिमेकी मुलुक भारतमा पनि यसले ठूलै तरंग ल्याएको छ ।

भारतीय संचार माध्यमहरुमा नेपालमा राजतन्त्र पुनःस्थापनाका सम्भावनाबारे बहस चलिरहेको छ । ती बहसहरुमा नेपालको स्वाधीनता र स्वतन्त्र अस्तित्व नै अस्वीकार गर्ने शैलीका अभिव्यक्तिहरु आएका छन् ।
भारतको एक टेलिभिजन अन्तरक्रियाका क्रममा नेपालका लागि भारतका पूर्व राजदूत रञ्जीत रेले “नेपालको आफ्नो परिचय के हो ?”
भन्दै गम्भीर प्रश्न उठाएका छन् । उनले सबै कुरा भारतसंग मिल्छ, भारतसंग सबै कुरामा निर्भर छ भने नेपालको मौलिक चिनारी के हो भनेर गम्भीर प्रश्न खडा गरिदिएका छन् ।
उनको प्रश्नको उत्तर र प्रतिवाद गर्ने आवश्यकता नेपालका कुनै पनि नेताले गर्न आवश्यक ठानेनन् । भारतले जसरी नेपालको आफ्नो चिनारी छैन भन्दै प्रश्न उठाएका छन् त्यसको अर्थ भारतले जे चाहन्छ त्यही हुन्छ भन्ने नै हो ।
देशको स्वाभीमान र चिनारीका विषयमा यति गम्भीर कुरा उठाउँदा पनि नेपालको राजनीतिले यसलाई देख्दै नदेखेको, सुन्दै नसुनेको जस्तो गरेर राजतन्त्रकालमा नेपालमा यसो भयो, उसो भयो, राजतन्त्रकालमा बोल्न पाइँदैनथ्यो, अहिले बोल्न पाइन्छ ।
खान नपाए पनि बोल्न पाउने अधिकार लोकतन्त्रले दिको छ यो नै सबैभन्दा ठूलो कुरा हो भन्ने कुतर्क गरेर आफूलाई नेताका रुपमा स्थापित गर्ने गलत प्रयत्न गरिरहेका छन् । सदनदेखि सडकसम्मै राजतन्त्र फर्कने सम्भावना छैन भनेर बिरोध गर्ने काम भैरहेको छ ।
नेपालमा राजतन्त्र पुनःस्थापनाको कुरा किन उठ्यो ? गणतन्त्रमाथि किन प्रश्न उठ्यो ? यो गणतन्त्रका संवाहक शक्तिले मनन् गर्नुपर्छ । संविधानतः राजाबाट रैती भैसकेका ज्ञानेन्द्र शाहबाट एउटा विज्ञप्ति आउँदा सिंगो राजनीतिक नेतृत्व थर्कमान हुनुको अर्थ गणतन्त्रका मसिहाहरुको असफलता बाहेक केही होइन ।
कुनै पनि व्यवस्था आफैंमा असफल र खराब हुँदैन लोकतन्त्र भने पनि त्यसका संवाहकहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन् भने त्यहाँ लोकतन्त्रमाथि नै प्रश्न उठ््छ । यो प्रश्न व्यवस्थाप्रति नभएर व्यवस्थापकप्रति हो ।
राजतन्त्र हुँदैमा पनि खराब हुँदैन । राजतन्त्र भएका मुलुक विश्वको शक्तिशाली मुलुकमा गनिन्छन् । तसर्थ ‘तन्त्र’ ठूलो कुरा होइन, यसका संचालक र शासकहरुको चरित्रले सफलता वा असफलताको निर्धारण गर्दछ ।
राजनीतिक सहकार्य, सद्भाव र सम्मान लोकतन्त्रको सबभन्दा ठूलो विशेषता हुनुपर्नेमा नेपालमा यसको प्रचूर अभाव छ । यही कारण राजतन्त्रको पक्षमा जनता सडकमा उत्रिएका हुन् । अहिलेको शासनसत्ताको मपाइत्वलाई सच्चिने दवावका रुपमा पनि यसलाई लिन सकिन्छ ।
तर, नेपालका शासकवर्ग, शासनमा पुग्ने हैसियत रहेका, मौका कुरेर बसेका सबै आफ्ना कमजोरी सच्याउनै नचाहने, विदेशीले चरम हस्तक्षेप गर्दा आफ्ना लागि हितकर भए मौन रहने, नत्र भने उग्र बिरोध गर्ने, मौका आउनासाथ लम्पसार पर्ने प्रवृत्ति रहेकै कारण भारतले ‘नेपालको चिनारी के हो ?’ भनेर गर्ने अवस्था सिर्जना भयो ।
भारतका शासक, प्रशासक सबैलाई थाहा भएकै कुरा हो कि जतिबेला भारत बेलायतको पाइतालामुनी दबिएको थियो त्यही बेलायतलाई नेपालले पटकपटक युद्धमा पराजित गरेर लखेटेको थियो भने भारतको सत्तासंग नेपालको राजतन्त्रले सधैं आफ्नो अडान र शिर उच्च राखेको इतिहास छ ।
यति गौरबशाली इतिहास रहेको विश्वका सबभन्दा प्राचीनतम र स्वतन्त्र मुलुकहरुमध्येको एक नेपालको आफ्नो चिनारी नरहेको भन्ने भारतीयहरुको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालको सिंगो राजनीति मौन रहनु ‘मालिक रिझाएको’ मेसोका रुपमा आम जनताले लिएका छन् ।
पूर्व राजदूत रेले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको आफ्नो अन्तरवार्तामा बताएका थिए र त्यो नेपालको शीर्ष राजनीतिक तहलाई खुसी तुल्याउने विषय थियो । किनभने, पूर्व राजदूत रेले फागुन २५ गते राजाको पक्षमा देखिएको भीड जनताको राजसंस्थाप्रतिको समर्थन रहेकोमा शंका समेत व्यक्त गर्दै भारत राजतन्त्रको पक्षमा नरहेको समेत बताए ।
बीबीसी नेपालीसंगको कुराकानीमा उनले राजतन्त्रको समर्थनमा अहिले जनमत नबनिसकेको र यो अहिले नेपालको लोकतन्त्रका लागि खतरा बनेको भन्ने अवस्था नरहेको बताउँदै राजावादीहरूको प्रदर्शनमा मानिसहरूले महसुस गरिरहेको निराशा झल्किएको मात्र बताए ।
नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापनामा भारतले सहयोग गर्ने सम्भावना कति रहेको भन्ने प्रश्नको उत्तर दिने क्रममा रेले नेपालको राजतन्त्र भारतको पक्षमा कहिल्यै नभएको बताउँदै राजा ज्ञानेन्द्रले सार्क सम्मेलनमा पाकिस्तानसंगको निकट सम्बन्ध र चीनलाई सार्कमा भित्र्याउन चाहेकैले भारत बिच्किएको पुनः स्मरण गराए ।
भारतले नेपालको कुनै मौलिक परिचय नभएको, नेपालको आफ्नो अस्तित्व नरहेको, सबै कुरा भारतसंग मिल्ने र भारत निर्भर रहेको भन्दै अत्यन्त आपत्तिजनक कुरा बोले पनि नेपाली राजनीतिलाई यसले छुनै सकेको छैन ।
आफूलाई राष्ट्रवादी भन्नेहरु पनि मौन रहेका छन् । सरकार आफ्नो शक्ति जोगाउने ध्याउन्नमा छ भने प्रमुख प्रतिपक्षी दल आफ्नो शक्ति आर्जनको बाटो खोजिरहेको छ । जनतालाई भ्रमित पार्दैै अन्टसन्ट बोलेर आफ्नो राजनीतिक दूनो सोझ्याउने खेलमा सबै तल्लिन रहेका बेला संसद पनि यस विषयबाट बेखबरजस्तै छ ।
भारतीय कूटनीतिज्ञहरुले नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा भारतको प्रत्यक्ष निर्देशनमा भएको खुलासा गरिरहँदा परिवर्तनका संवाहक शक्ति भनेर दावी गर्नेहरु मौन छन् । यो विषयलाई नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै उठान गर्नुभयो । अरु सबै राजतन्त्रको बिरोध गर्नमै समय खर्च गरिरहेका छन् ।
राजसंस्थाका पक्ष र विपक्षमा बोल्नेहरुले देशको इतिहासकै अपव्याख्या गर्दै गालीगलौजमा उत्रने काम गरिहँदा भारतीय कूटनीतिज्ञ र राजनीतिकर्मी तथा संचारकर्मीले नेपालका बारेमा बोलेका गलत कुराको कसैले प्रतिवादन गर्न आवश्यक ठानेनन् ।
प्रतिक्रिया राख्नुहोस्