ललित नारायण राजवंशीले छ विकेटको मद्दतमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ६० बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३६ रन बनाए भने दिलीप नाथले ५९ बलमा दुई चौकासहित ३४ रन जोडे ।
यसैगरी पुलिसका लागि सागर ढकालले अविजित २२ र श्रवण यादवले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले चार विकेट लिए भने कप्तान दिवान पुनले तीन विकेट लिंदा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाको भागमा समान एक-एक विकेट रह्यो ।
पुलिसले प्रस्तुत गरेको १४८ रनको लक्ष्य लिएर मैदान उत्रेको कर्णाली २४ ओभरमा १०४ रनमै समेटियो । कर्णालीको लागि रबिन्द्र शाहीले ३२ बलमा सात चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाए भने अर्जुन घर्तीले ३० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसको लागि ललितले छ विकेट लिए भने सागर ढकालले दुई विकेट लिंदा करण केसीको भागमा एक विकेट रह्यो । ललित नारायण राजवंशीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको इतिहासमा एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१७ बाट सुरु भएको प्रधानमन्त्री कपमा लगातार विभागीय टोली नेपाल पुलिस क्लबबाट क्रिकेट खेल्दै आएका ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् ।
जितसंगै पुलिस आठ खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ भने कर्णाली नौ खेलमा ८ अंक जोडी प्रतियोगितामा आफ्नो यात्रा अन्त्य गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्