बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण, जो कतार एयरवेजबाट आएकी थिइन
नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्ति फेला परेको छ । शनिबार बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । उनी नेपालको दोस्रो संक्रमित फ्रान्सबाट आएकी युवतीसंगै कतार एयरवेजबाट नेपाल आएकी थिइन् ।
उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
कतार एयरवजबाट चैत्र ४ गते काठमाडौं आएर भोलिपल्ट माइक्रो चढेर घर पुगेकी उनलाई घर गएको २(३ दिनपछि ज्वरो आएको थियो । ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन् । तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिएका थिए ।
संक्रमितमध्ये एकजना निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्