सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले बिहीबार दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता राईले २०६२-६३ सालको जनआन्दोलनले फालेको राजसंस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुने स्पष्ट पार्नुभयो । देशलाई विकास र समृद्धिको बाटोमा लैजान दुई ठूला दलबीच सहकार्य भएको उल्लेख गर्दै उहाँले सहकार्य आगामी निर्वाचनसम्म नै जारी रहने बताउनुभयो ।
आसन्न निर्वाचनमा एमाले एक्लै निर्वाचनमा सहभागी भएर पहिलो पार्टी बन्ने नेता राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रविरुद्ध हुँदै आएका सबै किसिमका भ्रम चिर्न एमालेले देशव्यापी सचेतना अभियान सञ्चालन गर्दैआएको छ ।”
पार्टीले यही चैत ३० गते दमकमा प्रदेशस्तरको जनप्रदर्शन गर्ने निर्णय गरेको नेता राईले जानकारी दिनुभयो । सोही जनप्रदर्शनबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षा र प्रतिगामी तत्वका विरुद्ध खबरदारी गर्न सातै प्रदेशमा जनसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्