तीनकुने क्षेत्रमा कर्फ्यू जारी, नेकपा एसको कार्यालय तोडफोड
राजतन्त्रवादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबीच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस र हवाई फायर भएको थियो भने सभास्थल प्रहरीले कब्जामा लिएको थियो ।
प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।
गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो ।
प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय र कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्