सरकारको प्रष्टोक्ति : विषम परिस्थितिको अनुभूति नहुनेहरुको कुप्रचार
सरकारले चीनबाट कारोना भाइरस परीक्षण तथा रोकथामका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री ल्याउन जहाज पठाएपछि व्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक संजाल तथा अनलाइनहरुमा खबरहरु छापिए ।
संकटको यो घडीमा चीन सरकारले अनुदानमा दिने सामग्री आउन ढिला हुने भएकाले सरकारले छोटो प्रक्रियाबाट खरीद गर्न लागेको विषयलाई मनलाग्दो गरेको भन्ने टिपणी भपछि सरकारले यस विषयमा स्पष्ट पारेको छ ।
यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक/वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक पटक बोलपत्र आह्वान गर्दासमेत कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता गरी उक्त सामग्री चीनबाट ल्याउन लागिएको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय शुरुदेखि नै क्रियाशील रहिरहेको उल्लेख गर्दैै सामग्री ल्याउने विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेको भनी दुःख व्यक्त गरेको छ ।
‘‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरीद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित/पोष्ट भइरहेको परिप्रेक्ष्यमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्रीहरु मात्र प्रचारप्रसार गर्न सबैमा अनुरोध छ’’, विज्ञप्तिमा भनिएको छ ।
उहाँले संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च बनाउन र जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्