भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित हासिल गरेको हो ।
जारी प्रतियोगितामा दिल्लीको यो लगातार दोस्रो हार हो । जैपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै ८४ रनको अर्धशतकीय पारी खेले भने रविचन्द्रन आश्विनले २९ रन बनाए ।
त्यस्तै धुर्व जुरेलले २० रन जोड्दा कप्तान सन्जु स्यामसनले १५ र सिम्रन हेटमेयर १४ रनमा अविजित रहे । दिल्लीको लागि खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि ओपनर डेभिड वार्नरको ३४ बलमा ४९ रन बनाए भने ट्रिस्टन स्टब्स २३ बलमा ४४ रनमा अविजित रहे । यस्तै कप्तान ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्सले २३ र अक्षर पटेले १५ रन जोडे । राजस्थानका लागि नन्द्रे बर्ग र युज्वेन्द्र चाहलले समान २-२ विकेट लिए भने आभेष खानको भागमा एक विकेट रह्यो ।
प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स नेपाली समय अनसार ७:४५ बजे बैंगलुरुमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया राख्नुहोस्