रुसी सेनामा भर्ती भएर मृत्यु तथा घाइते भएका नेपालीका परिवारले पाउन थाले क्षतिपूर्ति
रुस युक्रेन युद्ध सुरु भएपछि मानव तस्करको पहुँचबाट रुसी सेनामा भर्ती भएर मृत्यु तथा घाइते भएका नेपाली युवाहरुको परिवारलाई रुस सरकारले क्षतिपूर्ति दिन सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगेका छन् । तर क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन ।
संख्य यक्किन नभए पनि क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ भने दुईमध्ये एक जनाको परिवारले दुई किस्तामा क्षतिपूर्ति प्राप्त गरिसकेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले रुस सरकारले तीन किस्तामा क्षतिपूर्ति दिने गरेको र दुई जना मस्को पुगेको कागजात आफूसँग रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म दुईजना नेपाली मृतकका परिवारहरु क्षतिपूर्तिका लागि रुस गएको मेरो जानकारीमा छ । ती दुईमध्ये एकजनाको परिवारले दुई किस्तामा क्षतिपूर्ति प्राप्त गरिसक्नु भएको छ र अर्को प्रक्रियामा छ ।’
रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्न चाहने नेपाली परिवारलाई मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले ‘टु हुम इट मे कन्सर्न’ अर्थात् ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेखेर दिने गरेको छ ।
सो पत्रका आधारमा नेपालको दूतावासले रुस सरकारका सम्बन्धित अधिकारी र निकायहरुसँग पीडित परिवारका सदस्यलाई सम्पर्क गराइदिने लगायतका काममा सहजीकरण गरिदिने मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो ।
रुस सरकारले मृतक र घाइतेका परिवारलाई केही पारिवारिक सहयोगका साथै करिब दुई करोड नेपाली रुपैयाँ बैंक खातामा जम्मा गरिदिन्छ ।
तर त्यति धेरै रकम विदेशबाट नेपाल ल्याउन नपाइने भएकाले सरकारले यसको कानुनी गाँठो फुकाइदिनुपर्ने रुसी सेनामा भर्ती भएका नेपालीहरुको उद्धारका लागि भनेर अभियान चलाउँदै आएकी कृतु भण्डारीले बताउनुभएको छ ।
त्यसो त रुसी सेनामा भर्ती भएका कति नेपालीको मृत्यु भयो र कति घाइते भएका छन् भन्ने एकिन विवरण भने सरकारसँग छैन । नेपाल सरकारको रेकर्डमा ४८ जना मात्रै नेपालीको मृत्यु भएको विवरण छ । तर त्योभन्दा पनि धेरै संख्यामा नेपालीको मृत्यु भएको स्रोतहरु बताउँछन् ।
यद्यपि केही नेपालीहरु नेपाल फर्किएका पनि छन् । मन्त्रालयका प्रवक्ता ढकालका अनुसार नेपाली दूतावास मस्कोको सहयोगमा दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।
सन् २०२२ मा सुरु भएको रुस र युक्रेनबीचको युद्धमा रुसको तर्फबाट युद्धरत सेनामा भर्ना भएकामध्ये १०० जनाभन्दा बढी नेपाली अझै बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्