इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५० रनले पराजित गर्दै बेंगलुरुले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

जारी प्रतियोगितामा चेन्नईको भने यो पहिलो हार हो । चेन्नइको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो । बेंगलुरुको लागि कप्तान रजत पाटिदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले भने ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाए ।
त्यस्तै विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन जोड्दा देवदत्त पटीकलले २७, जितेश शर्माले १२, लियम लिभिङ्स्टोन १० र टिम डेबिड २२ रनमा अविजित रहे । चेन्नईका लागि नुर अहमदले तीन विकेट लिए भने , मथिशा पथिरानाले दुई विकेट लिंदा खलिल अहमद र रविचन्द्रन आश्विनको भागमा समान एक-एक विकेट रह्यो ।
बेंगलुरुले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो । चेन्नईका लागि रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे भने रविन्द्र जडेजाले २५ रन जोडे । यस्तै महेन्द्रसिंह धोनी ३० रनमा अविजित रहंदा शिभम दुबे १९ रन बनाए । बेंगलुरुका लागि जोस हेजलवुडले तीन विकेट लिए भने यश दयाल र लियम लिभिङ्स्टोनले समान दुई-दुइ विकेट लिंदा भुवनेश्वर कुमारको भागमा एक विकेट रह्यो ।
जितसँगै बेंगलुरु दुई खेलमा चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा दुई अंक जोडेको चेन्नई सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्