रवीन्द्र र धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्ध अपराधको मुद्दा
चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा पक्राउ पर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री तथा सांसद धवलशमशेर जबरालाई राज्यविरुद्धको अपराधको मुद्दा लगाइएको छ ।

तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, सांसद जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उहाँहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको छ ।
सोही सन्दर्भमा पक्राउ पर्नुभएका राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई भने हाजिरी जमानीमा छाडिएको छ ।
यसै गरी पक्राउ परेका अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराले घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्