राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडौँमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आइतबार प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उहाँको भनाइ थियो ।
“पूर्व राजाले नेपालका पार्टीसँग गरेको सहमति तोडेका छन्,” मन्त्री गुरुङले भन्नुभयो, “चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारी राजावदीले लिनुपर्छ । यो घटनाको छानबिनको दायरामा पूर्व राजा पनि पर्नेछन् । हत्या, हिंसा र लुटपाटको घटनामा दोषी देखिएका सबैमाथि कानुनी कारबाही हुन्छ ।”
एभिन्युजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरुङले बताउनुभयो । सञ्चारगृहहरुमाथि आन्दोलनकारीको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै उहाँले सञ्चारगृहको क्षति मूल्याङ्कन गरी सहयोग प्रदान गरिने बताउनुभयो । आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारले उपचार गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्