राजनीति

पूर्व राजाबाट कोरोना राहत कोषमा दुई करोड प्रदान, संयम अपनाउन आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख, कष्टका बेला सबैैका साथमा साथ दिने भन्दै कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना राहत कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गर्नुभएको छ । उहाँले संक्रमण फैलनबाट बच्न लकडाउनको पालना गर्न समेत आव्हान गर्नुभएको छ ।

मंगलबार पूर्वराजा शाहले एक प्रेस वक्तव्यमार्फत दुःख, कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएको बताउनुभएको छ ।

त्यस्तै विज्ञप्तिमा पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभएको छ ।

त्यस्तै उहाँले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताउँदै भन्नुभएको छ ‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

आफ्नो वक्तव्यमा पूर्वराजाले महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै भन्नुभएको छ ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’

त्यसै गरी कोरोनाले मानव समुदायमा त्रास र सभ्यतामाथि नै चुनौती दिएको बताउँदै पूर्व राजाको वक्तव्यमा भनिएको छ ‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.