जन सरोकार

पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…

दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ । तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।

पातुखोला

“त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो”, कार्यवाहक प्रमुख रावतले भन्नुभयो, “त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ ।”

दिउँसो त्यहाँ मजदुरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो । त्यहाँ पूर्वतर्फको वडा नं १० मा पर्छ भने पश्चिमतर्फको वडा नं ८ मा पर्छ । ठेकेदार झग्गु भण्डारीले पश्चिमतर्फको जग्गालाई घडेरी बनाउनका लागि रिटेनिङ वाल लगाउन थालेको स्वीकार गरेको कार्यवाहक प्रमुख रावतले बताउनुभयो । त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो ।

केही समय अघिदेखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो । पातुखोलामा निर्माण भएको अटोभिलेजबाट केही दक्षिणतर्फ घडेरी बनाउन लागेको थाहा पाएपछि आफूहरू सक्रिय भएको रावतले बताउनुभयो । पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ । केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.