जापानमा नेपाली श्रमिकको सहजीकरणका लागि एनडब्लुएसओको प्रयास
नेपालीहरुको उपस्थिति बढ्दै गएको जापानमा कामदारको सहजीकरणका लागि जापानमा पहिलोपटक नेपाल मानव संशोधन संयोजन मेला २०२५ आयोजना गरिएको छ ।

सोमबार राजधानी टोकियोको हानेदामा ‘नेपाली श्रमिक सपोर्ट एसोसिएशन’ (एनडब्लुएसओ) र क्योदो रेमिट्यान्स जापानको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको विप्रेषण आप्रवाहको सबैभन्दा ठूलो सञ्जाल रहेको आईएमईको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालका ३३ वटा मेनपावार कम्पनीहरु र जापानका १६० भन्दा बढी व्यावासायिक कम्पनीहरुको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रममा आईएमईका सहसंचालक तथा अध्यक्ष एवं क्योदो रेमिट जापानका निर्देशक हेमराज ढकालले नेपाल र जापानबीच श्रम सम्बन्ध थप मजबुत बन्दै गएको उल्लेख गर्नुभयो ।
ढकालले अहिले विभिन्न प्राविधिक तथा प्रशिक्षार्थी कामदार भिसाका कारण नेपाली युवा तथा विद्यार्थीहरुका लागि जापान आकर्षक गन्तव्य बनिरहेको बताउनुभयो ।
उहाँले जापानसंग धार्मिक, सांस्कृतिक समानताका तथा नेपालीहरुको इमान्दारिता, मेहेनत र कार्यक्षमताका कारण जापानको श्रम बजारमा नेपालीको राम्रो छवि बनेको बताउँदै यसलाई कायम राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनडब्लुएसओ जापानका प्रतिनिधि यामानोले नेपाली श्रमिकहरुको अवस्था र अवसरका बारेमा चर्चा गर्दै आफूले जहिले पनि नेपाललाई उच्च चासो दिएको बताउनुभयो ।
जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी तथा दक्ष श्रमिक सहयोग संगठन (जिट्को)को प्रायोजन रहेको कार्यक्रम नेपाली श्रमिकलाई जापानमा सहज तरिकाले काम गर्न सहजीकरणका लागि आयोजना गरिएको एनडब्लुएसओका अध्यक्ष गणेशमान योञ्जनले बताउनुभयो ।
सोही कार्यक्रममा जापानी भाषामा एक समानान्तर गोष्ठी पनि आयोजना गरिएको थियो । गोष्ठीको पहिलो सत्रमा जिट्कोका कार्यकारी निर्देशक शिगेओ मात्सुतोमीले विश्व बजार र विविध मानव संशाधनको आवश्यकताका विषयमा प्रस्तुति दिनुभएको थियो।
त्यस्तै दोस्रो सत्रमा शिनिचिरो यामानोले नेपालबाट सफल कामदार भर्ती प्रक्रयाका बारेमा आवश्यक जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा नर्सिङ, यातायात, निर्माण, होटल, खानपान र कृषि जस्ता क्षेत्रका प्रतिनिधिसँंग प्रत्यक्ष छलफल गरिएको थियो।
कार्यक्रमका लागि नेपाल एयरलाइन्स, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय कृषि संघ, स्कुल कर्पोरेशन एले गाकुएन, भिलेज हाउस म्यानेजमेन्ट कम्पनी, किराबोशी बैंक, यूआई बैंक, लसन बैंकलगायत विभिन्न संस्थाको सहयोग रहेको थियो ।
कार्यक्रमको उद्घाटन क्योदाई रेमिटेन्सका अध्यक्ष युइचिरो किमोटो, आईएमई समूहका अध्यक्ष हेमराज ढकाल, एनडब्लूएसओका निर्देशक गणेशमान योञ्जन र एनडब्लूएसओका अध्यक्ष यामानो शिनिचिरोको संयुक्त उपस्थितिमा भएको हो।
प्रतिक्रिया राख्नुहोस्