एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहिबार डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गर्नुभएको हो ।
बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डिआइजी कार्कीको रिट दर्ता भएको छ ।
आइतबारका लागि पेसी तोकिएको छ । डिआइजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ ।
बिहिबार नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति हुनुभएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति हुनुभएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्