राजनीति

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य : उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका दोस्रो अधिवेशनको आइतबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र व्यवस्थापनले मात्रै आर्थिक विकास सम्भव हुन्छ भन्नुभयो । “नेपाल प्राकृतिक र भौगोलिक रूपमा सुन्दर छ । धार्मिक तथा सांस्कृतिक विविधताका दृष्टिकोणले समृद्ध छ । त्यही हेर्न पर्यटकहरू लाखौँ खर्चेर नेपाल आउने अवस्था छ । यसलाई व्यवस्थित बनाउँदै लगेमा देश विकासमा टेवा पुग्नसक्छ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “त्यसैले तीनै तहका सरकार मिलेर आफ्नो क्षेत्रलाई आफैँ बनाउने नीतिका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकार त्यसका लागि सहजीकरण गर्न प्रतिबद्ध छ ।”

उपप्रधानमन्त्री महासेठ

उहाँले मधेस प्रदेशको विकासका लागि आफू यसअघि जिम्मेवारीमा रहेका बेला थुप्रै योजना अगाडि सारेको र अहिलेको कार्यकालमा ती योजनालाई पूर्णता दिने गरी पहलकदमी लिने बताउनुभयो । माता सीताको जन्म, ऋषिमुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी, ७२ कुण्डको सहर जनकपुरको विकास ,उपमहानगरमा बाह्य चक्रपथ निर्माणलगायत काम अगाडि बढाउने जनाउँदै उपप्रधानमन्त्री महासेठले देश र समग्र मधेसको विकास तथा प्रतिष्ठासँग जोडिएको जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएकाले चाँडै रेल सञ्चालन हुने जानकारी दिनुभयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु दीपेन्द्रकुमार ठाकुर, रामअशिष यादव, शारदा थापा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले मधेस प्रदेशबाट दुई दुईजना उपप्रधानमन्त्री महत्वपूर्ण जिम्मेवारीमा रहेका बेला मधेसमा होटल पर्यटन, व्यापार–व्यवसाय, भौतिक पूर्वाधारको विकासका लागि महत्वपूर्ण काम हुने अपेक्षा व्यक्त गर्नुभयो ।

यसअघि आइतबारै हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलको स्थलगत निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका महासेठले वर्षायाम अगावै पुलका बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उहाँले पहिलो चरणमा निर्माणाधीन योजना सम्पन्न गर्ने सरकारको नीतिअनुसार आगामी असार मसान्तभित्र कमला नदीमाथिको पुल सम्पन्न नभएमा सरकार निर्ममरूपमा प्रस्तुत हुनेबारे सम्बद्ध पक्षलाई जानकारी गराइसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.