लामिछानेद्वारा रास्वपा सभापतिको जिम्मेवारी वहन, गठन भयो ब्लुप्रिन्ट कार्यदल
संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सोमबारबाट कार्यभार सुरु गर्नुभएको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दामा लामिछाने प्रहरी हिरासतमा बसेका अवधिदेखि डोलप्रसाद अर्याल (डिपी)लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
सभापति लामिछाने अदालतबाट धरौटीमा रिहा भएको लामो समयपछि आजबाट पार्टीको नियमित काममा फर्कनुभएको हो । उहाँकै सभापतित्वमा बसेको बैठकले मिसन ब्लु प्रिन्ट कार्यदल गठन गरेको छ ।
रास्वपाले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य रहनुभएको छ ।
पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
झाका अनुसार पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्